काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका बोर्ड सदस्य एलबी क्षेत्रीले नवनियुक्त खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई ५ सुझाव दिएका छन् ।
क्षेत्रीले सामाजिक सञ्जालमार्फत नवनियुक्त खेलकुद मन्त्रीलाई कामकाजी प्रकृया र काममा नअल्झन आग्रह गर्दै खेलुकद विकासका विभिन्न ५ सुझाव दिएका छन् ।
क्षेत्रीले भनेका छन्, ‘भौतिक पूर्वाधार निर्माण, तालिम प्रशिक्षण सम्बन्धि कार्य निरन्तर चलिरहने प्रक्रिया हुन् । सबैले गर्छन् र सजिलो पनि हो तर नयाँपन के ?’
बोर्ड सदस्य क्षेत्रीले दिएका ५ सुझाव यस्ता छन् :
१. सबै क्षेत्रको नीति छ तर खेलकुदमा राष्ट्रिय नीति छैन । मन्त्रीपरिषद्बाट उच्चस्तरीय राष्ट्रिय खेलकुद आयोग गर्न आवश्यक छ । जसले खेलकुदको नीति तयार गरोस् ।
२. खेलाडीको खेलकुदमा टिकाएर राख्न सामाजिक सुरक्षा हुनुपर्दछ । मासिक भत्ता समाधान होईन । सरकार मातहतका निकायहरु सहित नीजि क्षेत्रमा जागिरका लागि कम्तीमा ५ प्रतिशत खेलकुद कोटा लागु हुनुपर्छ । जसले खेलकुदमा आकर्षण बढ्छ, खेलकुदले अपेक्षित उपलब्धि हासिल गर्छ ।
३. अन्तराष्ट्रिय पहिचान दिने बढीमा १५ वटा खेलको राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुपर्छ । खेलको वर्गीकरण गरेर पर्याप्त बजेट खेलमा विनियोजन गरेर योजना अघि बढाउनुपर्छ । अन्य खेलको राष्ट्रिय च्याम्पियनसिप एक पटक गर्दा हुन्छ ।
४. खेलकुदमा दक्ष जनशक्तिको रुपमा प्राविधिक जनशक्तिको चरम अभाव छ । प्राविधिक जनशक्तिको वृत्ति विकास गरि पेशागत मर्यादा र धर्म निर्वाह गर्ने वातावरण बनाउनुपर्छ ।
५. युवा तथा खेलकुद मन्त्रालयको बजेट कम्तीमा ५ देखि ७ प्रतिशत हुनैपर्छ ।
युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ आएका छन् । आश गरिएका युवा नेता खेलकुद मन्त्रीको रुपमा आएसँगै युवा तथा खेलकुदकर्मीले यस क्षेत्रमा सकारात्मक कामको अपेक्षा गरेका छन् ।