काठमाडौं । चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आइतबार स्वदेश फर्कने भएका छन् ।
ऐतिहासिक पदकधारी पलेशा आइतबार बिहान ११:२० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका रहेको छ।
चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा काँस्य पदक जित्दै इतिहास रचेकी थिइन् ।
पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।
नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै संस्करणदेखि मात्र समावेश गरिएको हो ।
पलेशाले २०२१ मा बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी काँस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।
पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोश्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।