काठमाडौं । एमेच्योर गल्फर शुक्र बहादुर राईले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
योसंगै शुक्र प्रोफेसनल उपाधि जित्ने तेस्रो एमेच्योर खेलाडी बनेका छन् । यसअघि शिवराम र रुपक आचार्यले एमेच्योर रहदा प्रोफेसनल उपाधि जितेका थिए ।
धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा शुक्रबार तीन अन्डर ६७ स्कोर जोडेका शुक्रले कुल चार अन्डर २०६ स्कोरकार्डसहित उपाधि जितेका हुन् ।
शुक्रले नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ र विकास अधिकारीलाई ४ स्ट्रोक्सले पछि बनाए । शुक्रबार तीन ओभर ७३ स्कोर जोडेका शिवरामले कुल एक ओभर २११ स्कोर बनाए । विकासले एक अन्डर ६९ सहित कुल एक ओभर २११ स्कोर नै जोडे ।
उपाधि जितेपछि शुक्रले १ लाख २० हजार नगद पुरस्कार भने पाएनन् । प्रोफेसनल गल्फमा एमेच्योर खेलाडीले उपाधि जिते नगद पुरस्कार प्रदान गरिदैन । जसकारण दोस्रो र तेस्रो भएका शिवराम र विकासले समान ९८ हजार ५ सय नगद पाएका छन् ।
यस्तै चौथो भएका भुवन नगरकोटीले ५५ हजार र पाँचौ भएका संजय लामाले ३९ हजार नगद पुरस्कार पाएका छन् ।