काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सरकारबाट आवश्यक जग्गा उपलब्ध भएमा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन पहल गर्ने बताएका छन् ।
श्रीलंकामा एसिया कप क्रिकेट हेरेका मेयर बालेनले सरकारले काठमाडौं महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराएको खण्डमा काठमाडौं महानगरबाट रंगशाला बनाउन पहल गर्ने बताएका हुन् ।
'यस्तो मात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ ।' उनले भनेका छन्, 'त्यो बाहेक खेलाडी र तल्लोतहमा सिकाई सुविधाका लागि अबको तीन वर्षमा सकेसम्म हरेक वडामा एक हुन गरि बलिङ नेट राख्ने प्रबन्ध पहिलेनै गरिसकेका छौं ।'
मेयर बालेन एसिया कपमा भारतविरुद्ध नेपालको खेल हेर्न श्रीलंका गएका थिए । उनले श्रीलंका भ्रमणको दौरान विभिन्न देशबाट नेपालको खेल हेर्न पुगेका दर्शक र त्यसबाट श्रीलंकाले प्राप्त गरेको आर्थिक आर्जनबारे आफ्नो अनुभव सेयर गरेका छन् ।