काठमाडौं । वर्ल्ड अक्वाटिक जुनियर स्विमिङ्ग च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल पौडी संघका अनुसार इजरायलमा हुने प्रतियोगितामा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
भाद्र १८ देखि २३ गतेसम्म इजरायलको नेतन्यामा हुने प्रतियोगितामा अजलकाजी ताम्राकार, इरभिन श्रेष्ठ, अल्भिन महर्जन, उपास्ती महर्जन, रोशा न्यौपाने र टिशा महर्जनले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
अजलकाजीले ५० मिटर बटरफ्लाई र फ्रिस्टायलमा, इरभिनले सय र २ सय मिटर फ्रिस्टायलमा, अल्भिन महर्जन ५० मिटर बटरफ्लाई र सय मिटर फ्रिस्टायलमा, उपास्तीले ५० र सय मिटर ब्रेष्ट स्ट्रोकमा, रोशा न्यौपानेले ५० र सय मिटर फ्रिस्टायलमा र टिशाले ५० मिटर ब्याकस्ट्रोक र सय मिटर फ्रिस्टायलमा चुनौती पेश गर्नेछन् ।
नेपाली टोलीको ब्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् ।
प्रतियोगितामा सहभागी हुने टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामना सहित बिदाई गरेका छन् ।
सदस्य सचिव घिसिङ्गले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने भन्दै उत्कृष्ट प्रर्दशनका लागि शुभकामना दिए । उनले खेलाडीहरुका लागि सहज बातावरण श्रृजना गर्न आफु हर समय लागि परेको उल्लेख गरे ।
कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिती रहेको थियो । नेपाली टोली शनिबार बिहान ७ बजे इजरायल प्रस्थान गर्ने कार्यक्रम छ ।