काठमाडौं । नेपाल पौडी संघले मित्र राष्ट्र चीनको ग्वाङ्गझाउ सहरमा आयोजना हुने १९ औं एशियन गेम्सका लागि चार खेलाडी छनौट गरेको छ ।
संघका अध्यक्ष अशोक बज्राचार्यका अनुसार नेपाल पौडी संघले आयोजना गरेको ११ औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरि चार खेलाडी १९ औं एशियन गेम्सका लागि खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएको बताए ।
छनोट हुने खेलाडीहरुमा पुरुषतर्फ एलेक्जेण्डर गादेगार्ड शाह र नासिर याह्या हुसेन तथा महिलातर्फ गौरिका सिंह र डुवाना लामा रहेका छन् । एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए । यस्तै नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए ।
बैकल्पिक खेलाडीमा पुरुषतर्फ विकास कुमाल र महिलातर्फ अनुशिया तण्डुकार रहेका छन् । कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए ।
अध्यक्ष बज्राचार्यका अनुसार यी चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुन गईरहेको पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगिता समेत रहेको वल्र्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन् ।