काठमाडौं । काठमाडौंका तेन्जिन नामदोल रायन गुरुङले दोश्रो बागमती प्रदेश खेलकुद अन्तरगत भएको पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
तेन्जिनले आज बिहान भएको हिटमा ५० मिटर ब्याकस्ट्रोकको दुरी ३०.०५ सेकेन्डमा पूरा गरेका थिए । यस अघि उनकै नाममा ३१.३१ सेकेन्डको किर्तिमान कायम थियो । उनले यो २०१९ मा बेग्लोरमा आयोजना भएको १० औं एशियन उमेर समूहमा राखेको किर्तिमान हो ।
बुधबार ८ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ५० मि. ब्याकस्ट्रोकमा तेन्जिनले ३०.४२ सेकेन्ड समयका साथ स्वर्ण जिते । ललितपुरका अनुभव सुब्बाले रजत र काठमाण्डौका जाडेन श्रेष्ठले कास्य पाए ।
महिला तर्फ काठमाण्डौका आर्या महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३६ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेकी हुन् । काठमाण्डौकै अनुसिया तण्डुकारले रजत र काठमाण्डौकै राभ्या श्रेष्ठले कास्य पाईन् ।
प्रदेश खेलकुद विकास परिषद्, बागमतीले आयोजना गरेको प्रतियोगिताको १०० मिटर ब्रेष्ट स्ट्रोकमा महिला तर्फ ललितपुरकी उपास्ती महर्जनले काठमाण्डौकी रोयल प्रजापतीलाई पराजित गर्दै स्वर्ण जितिन् । उनले उक्त दुरी १ मिनट २५.५० सेकेन्डमा पुरा गरिन् । काठमाण्डौकी राभ्या श्रेष्ठले कास्य पाईन् । पुरुष तर्फ ललितपुरका शेरेन सिंहले १ मिनट १५.३३ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । काठमाणडैका सनिल कुमार थापा मगरले रजत र ललितपुरका लेसन डङ्गोलले कास्य पाए ।
१०० मिटर बटरफ्लाईमा पुरुष तर्फ अनुभव सुब्बाले स्वर्ण जिते । ललितपुरका उनले उक्त दुरी १ मिनट ५.१० सेकेन्डमा पुरा गरे । काठमाण्डौका युभान लाल श्रेष्ठले रजत र काठमाण्डौकै आयोन श्रेष्ठले कास्य पाए ।
१०० मिटर फ्रिस्टायलमा महिला तर्फ काठमाण्डौकी अनुशिया तण्डुकारले १ मिनट ४.३९ सेकेन्डका साथ स्वर्ण पाईन् । काठमाण्डौकी रोयल प्रजापतीले रजत र काठमाण्डौकी आर्या महर्जनले कास्य पाईन् । पुरुष तर्फ काठमाण्डौका तेन्जिन नामदोल रायन गुरुङले ५७.५८ सेकेन्डका साथ स्वर्ण जित्दा ललितपुरका अल्भिन महर्जन र सेरेन सिहले रजत र कास्य पाए ।
२०० मिटर ब्यक्तिगत मिड्लेको पुरुष तर्फको प्रतिस्पर्धामा काठमाण्डौका सनिल कुमार थापा मगरले स्वर्ण जिते । उनले उक्त दुरी पार गर्न २ मिनट २८.६७ सेकेन्ड समय लगाए । ललितपुरका अल्भिन महर्जनले रजत र काठमाण्डौका युभानलाल श्रेष्ठले कास्य पाए ।
प्रतियोगिताको दोश्रो दिन बिहिबार १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।