काठमाडौं । दोस्रो नेपाल-भारत दुईदेशीय टी-ट्वान्टी दृष्टिविहीन महिला क्रिकेट सिरिज नेपालले जितेको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार सिरिजको पाँचौं तथा अन्तिम खेल वर्षाको कारण रद्द भएपनि नेपालले ५ खेलको सिरिज ३-१ ले जितेको हो ।
वर्षाको कारण खेल १० ओभरमा झारिएको थियो । नेपालले १० ओभरमा ८२ रन बनाउन सफल भएको थियो । तर, वर्षाको कारण दोस्रो इनिङ नभएपछि खेल रद्द भएको हो ।
सिरिज जितेसँगै नेपालले ८५ हजार नगद प्राप्त गरेको छ । भारतले ५१ हजार पाएको छ ।
सिरिजमा बी १ क्याटेगोरीतर्फ भारतकी सिमु दास, बी २ तर्फ नेपालकी मनकेशरी चौधरी र बी ३ तर्फ नेपालकी विनिता पुन प्लेयर अफ द सिरिज चुनिए । उनीहरुले जनही १० हजार प्राप्त गरे ।
यस्तै विगत १७ वर्ष देखि क्रिकेट खेल्दै आएकी नेपालकी राष्ट्रिय कप्तान भगवती भट्टराई वरालले कप्तानबाट सन्यास लिएकी छिन् । उनलाई विषेश सम्मान गरिएको थियो ।