बाँके । बाँकेको खजुरा गाउँपालिकामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको अन्तिम रचणमा रहेको छ ।
पालिकाको वडा नम्बर ४ मा रहेको खजुरा मिनिपार्क एण्ड रिसोर्ट उद्यानले जिल्लामा दोस्रो अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरीको संचालनमा ल्याउन लागेको हो ।
उद्यानका संचालक टेक श्रेष्ठका अनुसार ‘स्वास्थ्य र सुरक्षकोलागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नाराका साथ उक्त पोखरी संचालनमा ल्याइन लागिएको हो । ‘यो पौडी पोखरी मनोरञ्जन गर्नका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो,’ संचालक श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार उक्त पोखरीको लम्बाई २५ मिटर र चौडाई १२.५ मिटरको रहेको छ । जहाँ एकैपटक ६ जना खेलाडीले पौडिन सक्नेछन् । करिब २ करोड रुपैयाँ लागतमा निर्माण गरिएको पोखरीको गहिराई ३.५ फिटदेखि ७ फिटसम्म रहेको छ भने बालबालिकाका लागि छुट्टै १.५ फिट गहिराईको पोखरी निर्माण गरिएको छ ।
उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेश प्रशिक्षक चन्दरराम चौधरीले नयाँ व्यक्ति तथा बालबालिकालाई प्रशिक्षण दिनेछन् ।
पौडी पोखरीमा विद्यार्थी तथा बालबालिकाका लागि ३ सय र अन्य व्यक्तिका लागि ३ सय ५० रुपैयाँ शुल्क राखिएको श्रेष्ठले बताए ।
बाँकेमा थुर्पै पौडी पोखरीहरु रहेका छन् । तर अन्तर्राष्ट्रियस्तरको पोडी पोखरी नेपालगन्ज रंगशालामा मात्रै रहेको छ ।