काठमाडौं । ब्राइट फ्युचर मावि प्लस टु विभागको आयोजनामा दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो संस्करणमा २३ टिम सहभागी थिए ।
पहिलो हुने टिमले नगद ३० हजारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाउने छन् । दोश्रोले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने छन् । त्यस्तै सहभागी हरेक टिमका खेलाडीले २५ प्रतिशत छात्रवृत्ति पाउने छन् ।
उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कारसंगै १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । अनुशासित टिमका खेलाडीले पनि १०० प्रतिशत छात्रवृत्ति पाउने प्रतियोगिता संयोजक सरोज महर्जनले जानकारी गराए ।
तीनदिने नकआउट प्रतियोगिताका खेलहरु नैकापस्थित आयोजक ब्राइट फ्युचरको आफ्नै हातामा खेलाइने छ ।