काठमाडौं । नेपालमा लोकप्रिय खेलमा फुटबल अझैपनि पहिलो नम्बरमा पर्छ । तर, वर्ष २०७९ फुटबलमा विवाद र खेलाडी पलायनको चर्चा बढी रह्यो ।
वर्ष ७९ मा नेपाली फुटबलले मैदान भित्र भन्दा मैदान बाहिर चर्चा पायो । वर्षको सुरुआतमै देखिएको मुख्य प्रशिक्षक र खेलाडी विवाद देखि खेलाडीको पलायनले वर्षको अन्त्य गर्यो ।
यद्दपी वर्ष ७९ मा फुटबलमा केहि सकारात्मक कार्य पनि भयो । त्यसबीचमा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ नेतृत्व समेत पायो ।
खेलाडी र प्रशिक्षक विवाद -
वर्षको सुरुआतमै मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र खेलाडीबीच विवाद सिर्जना भयो । मुख्य प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
बन्द प्रशिक्षण छाड्नेमा रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्ट थिए । यस्तै कप्तान तथा गोलकिपर किरण चेम्जोङ पनि टोलीमा सहभागी भएनन् ।
खेलाडी र प्रशिक्षक विवाद भदौसम्म रह्यो । भदौ २६ गते अलमुताईरीले राजीनामा दिएपछि विवाद अन्त्य भयो । असोजबाट प्रशिक्षण छाडेका खेलाडीहरु टोलीमा फर्किए ।
जेठ अन्तिम र असार पहिलो साता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतमा एसिया कप छनोटको तेस्रो चरण खेल्यो । तर, समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गर्यो । छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँग पराजित भयो । छनोटमा अलमुताईरीले प्रशिक्षण छाडेका खेलाडी टोलीलाई टिममा राखेका थिएनन् ।
एसियन कप छनोट अघि नेपालले कतारमा ओमान र टिमोर लिस्टेको यू-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । ओमानसँग २-० ले पराजित नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी खेलेको थियो ।
बैशाखमै अनुशासन विहीन कार्य गरेको भन्दै एन्फाले सहिद स्मारक ‘बी’ डिभिजन क्लब नयाँ वस्ती युथलाई तीन लाख रुपैंया जरिवाना, क्लब पदाधिकारी श्रीबहादुर योगीलाई दुई वर्षको प्रतिबन्ध, क्लब व्यवस्थापकलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको थियो ।
यस्तै एन्फाले सहिद स्मारक लिग 'सी' डिभिजन क्लब आरसी ३२ फुटबल एकेडेमीमाथि १ लाख ५० हजार रुपैंया जरिवाना गरेको थियो ।
एन्फामा नयाँ नेतृत्व -
असार ६ गते एन्फाको निर्वाचन भयो । जसमा अध्यक्षका अर्का प्रत्यासी तथा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकज बिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भए । एन्फाका पूर्व अध्यक्ष गणेश थापाको प्यानलले सहयोग गरेपछि नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
तर, पछिल्लो समय थापा समूह र शेर्पा समूहले नेम्वाङविरुद्ध असहयोग गर्दै आईरहेको छ । सन्तुष्ट पक्षले एन्फा कार्यसमिति बैठक बहिस्कार गर्दै आईरहेका छन् । चैत १८ गते डाकिएको एन्फाको आकस्मिक बैठकमा उपाध्यक्षत्रय बिराटजंग शाही, दिर्घबहादुर केसी, दिपक खतिवडा र सदस्यहरु महेन्द्र क्षेत्री, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, पेमा लामा, मनिष जोशी अनुपस्थित रहेका थिए ।
खेलाडी पलायन -
एन्फाले 'ए' डिभिजन लिग घोषणा गर्यो । तर, लिगको अनिश्चिततासँगै खेलाडीले विदेश पलायन जोडे । राष्ट्रिय टोलीकै खेलाडीसहित दर्जन बढी खेलाडी विदेशिए । खेलाडी पलायन रोकिएको छैन ।
राष्ट्रिय टोलीका सदस्य विशाल राई, सुनिल बल,तेज तामाङ, सुमन अर्याल, रंजित धिमाल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, आशिष लामा, दर्शन गुरुङ, अविशेक रिजाल लगायतका खेलाडीहरु अष्ट्रेलिया पलायन भए ।
अधिकांस खेलाडी लिग सुरु अघि अष्ट्रेलिया लागेका थिए भने कतिपय खेलाडी लिग चल्दै गर्दा अष्ट्रेलिया रोजे । अझै एक दर्जन खेलाडी अष्ट्रेलिया जाने तयारीमा छन् ।
राष्ट्रिय टोलीका अनुभवी मिडफिल्डर सुजल श्रेष्ठ पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गर्दै अष्ट्रेलिया लागे ।
थ्री नेसन्स उपाधि -
वर्षको अन्तिम चैतमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको आयोजना गर्यो । प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहेको थियो ।
दशरथ रंगशालामा चैत १७ गते भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको थियो ।
थ्री नेसन्सको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो ।
थ्री नेसन्सको खेलपछि नेपालको फिफा वरीयता एक स्थान सुधार भयो । नेपाल १७४ औं स्थानमा उक्लिएको छ ।
महिला फुटबल -
महिला साफ च्याम्पियनसिप नेपालले गत असोजमा आयोजना गर्यो । तर, नेपाल उपविजेतामै सिमित रह्यो । फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले स्तब्ध भयो ।
नेपाली महिला टोलीले फागुनमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । भारतमा भएको दुबै मैत्रीपूर्णमा नेपालले बराबरी खेलेको थियो ।
यस्तै महिला फुटबल टोलीले चैतमा ओलम्पिक छनोटको पहिलो चरण खेल्यो । समूह 'सी' मा रहेको नेपालले भियतनामसँग दुबै खेल गुमायो ।
नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट अन्तर्गत समूह 'बी' को विजेता बन्दै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो।
यसै वर्ष नेपालले बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्यो ।
बंगलादेशमै भएको साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल आयोजकसँग पराजित हुँदै उपविजेता बन्यो ।
साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भने नेपाल चौंथो स्थानमा रह्यो ।
राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण यस वर्ष पूरा भएन । पहिलो चरण चितवनमा भएको थियो । पहिलो चरणको अंक तालिकाको आधारमा एपीएफलाई उपाधि दिइएको थियो ।
वनदेवी युवा क्लबको आयोजनामा पहिलो पटक धनगढीमा प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबलको आयोजना भयो । जसको उपाधि पुलिसले जितेको थियो ।
पुरुष फुटबल -
राष्ट्रिय पुरुष फुटबल टिमले असोजमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्यो । दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३-१ ले हराएको थियो । प्रदिप हुमागाई नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक थिए ।
यस्तै नेपालले कात्तिकमा पाकिस्तानसँग एक खेलको मैत्रीपूर्ण खेलेको थियो । प्रवेश कटुवालको नेतृत्वमा नेपालले पाकिस्तानलाई १-० ले हराएको थियो ।
यू-२० पुरुष फुटबल टोलीले गत असोजमा बहराइनमा आयोजना भएको एएफसी यू-२० एसियन कप छनोटमा सहभागिता जनाएको थियो । तर, छनोटको समूह 'बी' मा रहेको नेपाल जित विहीन बनेको थियो ।
यस्तै यू-२० पुरुष टोलीले साउनमा भारतमा भएको साफ यू-२० च्याम्पियनसिप खेलेको थियो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको प्रतियोगितामा नेपालले तेस्रो स्थानमा चित्त बुझाएको थियो ।
यू-१७ पुरुष टोलीले असोजमा भियतनाममा आयोजना भएको एएफसी एसियन कप छनोट खेल्यो । तर, छनोटमा नेपाल जित विहीन बन्यो ।
'ए' डिभिजन लिग सुरु -
विविध विवादको बीच फागुन १९ बाट सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल सुरु भयो ।
यस पटकको लिग ४५ औं संस्करणको हो । लिग डबल राउण्ड रोबिनको आधारमा जारी छ । वर्ष २०७९ सम्म लिगको आठौं चरण सकिएको छ ।
चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गरेका छन् ।
'बी' लिग अन्योलमा -
एन्फाले चैत २९ गतेबाट 'बी' डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, एन्फाले 'बी' लिग सुरु गर्न सकेको छैन । 'बी' लिगको अन्योलता कायम रहेको छ ।
लिगको तयारी खर्च नपाएपछि बी डिभिजनका क्लबले निर्धारित मितिमा लिग खेल्न नसकिने भन्दै एन्फाको ध्यानाकर्षण पत्र बुझाएका थिए ।
यद्दपी असोजमा सहिद स्मारक लिग ‘सी’ डिभिजन लिगको छनोट भयो ।
मोफसलको गोल्डकप -
यस वर्ष राजधानी र मोफसलमा थुप्रै नकआउट गोल्डकप प्रतियोगिता आयोजना भए । काठमाडौंमा केपी ओली कप गोल्डकप आयोजना भयो ।
धनगढीमा सुदुरपश्चिम गोल्डकप आयोजना हुँदा, झापामा झापा-भद्रपुर गोल्डकप आयोजना भयो । धरानमा बुढासुब्बा गोल्डकप, इटहरीमा इटहरी गोल्डकप र विराटनगरमा विराट गोल्डकप आयोजना भए ।
यस्तै पोखरामा आहा रारा गोल्डकप, सिमरामा जीतपुरसिमरा गोल्डकप, बुटवलमा तिलोत्तमा गोल्डकप आयोजना भयो ।
मुख्य प्रशिक्षक नियुक्त -
अलमुताईरीले भदौमा राजीनामा दिएपछि नेपाल लामो समय मुख्य प्रशिक्षक विहीन रह्यो ।
तर, एन्फाले गत फागुनमा इटालीका भिन्सेन्जो अल्बर्टो एनीसलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
त्यसबीचमा प्रदिप हुमागाई र प्रवेश कटुवालले नेपाली टोली सम्हाल्ने मौका पाएका थिए ।
यस्तै एन्फाले एनीसको सहायक प्रशिक्षकम प्रवेश कटुवाल र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको थियो ।