काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे ।
पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान १०–१२ बजे, दोश्रो अपरान्ह १–३ बजे र तेश्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।
व्यक्तिगत प्रति सिफ्ट २ सय, व्यक्तिगत मासिक ४ हजार, व्यक्तिगत त्रैमासिक १० हजार, व्यक्तिगत प्रशिक्षणसहित प्रति महिना ५ हजार र व्यक्तिगत प्रशिक्षणसहति त्रैमासिकको १३ हजार शुल्क तोकिएको छ ।
प्रमुख कट्वालले गत सिजनमा करिब ५० हजार जना पौडी खेल्न आएको र करिब १ करोड आम्दानी भएको जानकारी गराए ।