इलाम । मेचीनगर नगरपालिकामा नयाँ वर्षको अवसरमा वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
धुलाबारी फुटसल एरिनामा वैशाख १ गतेबाट ९ गतेसम्म चार दिवसीय प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको हो ।
मेचिनगरभित्रका १५ वटा वडाका टिमलाई समावेश गराउने उद्देश्य प्रतियोगिताका संयोजक तथा धुलाबारी फुटसलका संचालक विवेक बस्नेतले जानकारी दिए ।
युवामाझ निकै लोकप्रिय बन्दै गएको फुटसल खेललाई प्रोत्साहन गर्दै खेलाडीलाई हौसला प्रदान गर्न फुटसल आयोजना गरिएको उनको भनाइ छ । फुटसल प्रतियोगिताको आयोजक धुलाबारी फुटसल एरिना र सहआयोजक हलेसी मेडिकल हल रहेको छ ।
मेचीनगरको पहिलो फुटसल एरिनामा हुने प्रतियोगिताका विजेता टिमले नगद ३० हजार र उपविजेतालाई नगद १५ हजार, प्रमाणपत्र र ट्रफीको व्यवस्था गरिएको प्रतियोगिताका सहआयोजक हलेसी मेडिकल हलका संचालक सोम ओझाले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई नगद साथै प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् । धुलाबारी फुटसल एरिनाले आफ्नो स्थापना कालदेखि नै विद्यार्थी, संघसंस्था र युवा लक्षित विभिन्न प्रतियोगिता संचालन गरिसकेको छ ।
प्रथम वडास्तरीय फुटसल प्रतियोगिताले विभिन्न वडामा रहेका खेलाडीको प्रतिभा प्रष्फुटन हुने र स्थानीयस्तरमा खेल क्षेत्रको विकासमा पनि एउटा इँट्टा थप्ने विश्वास आयोजक कमिटीले लिएको छ ।