काठमाडौं । भारतको गुजरातमा हुने व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ । नेपाल पारा ओलम्पिक कमिटीले सानोगौचरणमा पत्रकार सम्मेलन गर्दै १२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।
छनोट भएका खेलाडीहरुमा हिमालय आर्यल (कप्तान), रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरत कार्की छन् ।
चैत १ देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्र सहभागी हुने छन् । पहिलो राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
पत्रकार सम्मेलनमा नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव प्रकाश चिलवाल, अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट परिषद्का महासचिव रघुकुमार आर, एटीटीएफका अध्यक्ष कुमार पौडेललगायतको उपस्थिति थियो ।