काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
पहिलो सेट २३-२५ ले गुमाएको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।
आर्मीले दोस्रो सेट २५-१३, तेस्रो सेट २५-२२ र चौंथो सेट २५-१२ ले जित्दै फाइनल यात्रा तय गरेको हो ।
अब आर्मीले शनिबार हुने फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई हराउँदै एपीएफ फाइनल पुगिसकेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार पुरुषतर्फ राउन्ड रोविन लिगको अन्तिम दुई खेलहरु हुँदैछन् ।
प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको उपाधि विजेता टोलीले ५/५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
यस्तै उपविजेता टोलीले समान २ लाख ५० हजार, तेश्रो हुनेले १ लाख २५ हजार र सान्त्वना पुरस्कार स्वरूप चौंथो हुनले ६५ हजार पाउने छन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।