काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
साबिकको बिजेता एपीएफले पहिलो सेट २५–१३, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ को जित निकाल्न सफल भयो ।
अब एपीएफले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार खेल्नेछ ।
दोस्रो सेमिफाइनलमा अहिले विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीचमा खेल भईरहेको छ ।
बिहीबार नै पुरुषतर्फ राउन्ड रोविन लिगको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।