काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुबन आर्मी क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकालेका छन् ।
पोखरा रंगशालाको कभर्ड हलमा मंगलबार न्यु डायमण्ड स्पोर्टस क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा एपिएफले डायमण्डलाई २५–१५, २५–२० र २५–७ को सेटमा हराउन सफल भयो ।
डायमण्डको भने यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा डायमण्डलाई आर्मीले ३–० कै सेटमा हराउन सफल भएको थियो ।
मंगलबार भएको महिलातर्फको दोस्रो खेलमा आर्मी क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हर्राएको छ ।
लगातार दोस्रो जित हात पार्नेक्रममा आर्मीले गण्डकीलाई २५-१०,२५-१६ र २५-१६ को सेटमा हराएको हो ।
गण्डकीको भने यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा गण्डकीलाई एपीएफले ३–० कै सेटमा हराउन सफल भएको थियो ।
प्रतियोगिता अन्तर्गत नै मंगलबार पुरुषतर्फ दुई खेल हुनेछन् ।
पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस र श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लबबीच खेल हुनेछ । दोस्रो खेलमा गण्डकी प्रदेश तथा विभागीय टोली एपीएफ क्लबबीच खेल हुनेछ ।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।