काठमाडौं । विभागीय टोलीहरु नेपाल एपीएफ क्लब र त्रिभुबन आर्मी क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ जित निकालेका छन् ।
पोखरा रंगशालाको कभर्ड हलमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा एपिएफले पुलिसलाई २५–१९, २१–२५, २५–१९ र २५–१८ को सेटमा हराउन सफल भयो ।
पुलिसको भने यो लगातार दोस्रो हार हो । यसअघि पहिलाे खेलमा एपिएफले आर्मीलाई ३–१ कै सेटमा हराउन सफल भएको थियो । आजै भएको पुरुष तर्फको पहिलो खेलमा श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले पहिलो जित हात पारेको थियो ।
आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा आर्मीले जोशेफ वाज स्पोर्टस क्लबलाई २५-२०,२५-१७ र २५-१० को सेटमा हराएको हो ।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।