काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको खेलमा विजयी सुरुआत गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा सोमबार गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो । पहिलो खेलमै जित निकाल्ने क्रममा एपीएफले गण्डकीलाई २५-११,२५-१९ र २५-१६ को सेटमा हराएको हो ।
आज नै पुरुषतर्फ दुई खेल हुदैछ ।
पुरुष तर्फको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब बीच खेल हुदैछ। पहिलो खेलमा पराजित आर्मी पहिलो जितको खोजीमा रहँदा पहिलो पटक प्रतियोगितामा सहभागी श्रीलंकाका क्लब जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।
पुरुष तर्फको दोस्रो तथा आजको अन्तिम खेलमा विभागीय टोलीहरु नेपाल एपीएफ क्लब र नेपाल पुलिसका बीचमा खेल हुदैछ । पहिलो खेलमा जित हात पारेको एपीएफ लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पराजित पुलिस भने पहिलो जितको खोजीमा रहेको छ ।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।