काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ विजयी सुरुआत गरेका छन् ।
पोखरा रंगशालाको कभर्ड हलमा आइतबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
पहिलो खेलमै जित निकाल्ने क्रममा पहिलो सेट आर्मीले २५-२० ले जितेकोमा दोस्रो सेट एपीएफले २५-२२ जितेकोमा तेस्रो सेट ले एपीएफ क्लबले २६-२४ जितेको थियो । चौथो सेट एपीएफले २५-१९ ले जितेको थियो ।
पुरुषतर्फको दोस्रो तथा आजको अन्तिम खेलमा गण्डकी प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । आफ्नो पहिलो खेलमा जित हात पार्ने क्रममा गण्डकीले २५-२३,२५-२० र २५-१६ को अंकको जित हात पारेको हो ।
महिलातर्फ भएको पहिलो खेलमा त्रिभुवन आर्मीले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३-० ले पराजित गरि विजयी सुरुआत गरेको थियो ।
राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब,नेपाल एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । यस्तै पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ ।
महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमले ५/५ लाख रुपैया नगद पाउँदा उपविजेता टिमले समान नगद २ लाख ५० हजार पाउँने छ । तेश्रो हुने टिमले समान नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमले समान नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन्।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।