काठमाडौं । विभागीय टोली नेपाल पुलिसले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराएर पुलिस च्याम्पियन भएको हो।
पहिलो सेट २५-२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले जितेको थियो । डायमण्डले तेस्रो सेट २७–२५ ले जितेकोमा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो ।
निर्णायक तथा पाँचौं सेटमा पुलिसले १५-११ को जित निकाल्न सफल भयो ।
महिलातर्फको फाइनलमा बिजेता बनेको पुलिसले चार लाख नगद पुरस्कार पाएको छ । उपबिजेतामा सिमित डायमण्डले भने २ लाख पाएको छ ।
तेस्रो भएको एपीएफले १ लाख रुपैया हात पारेको छ ।
पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।