काठमाडौं । हेल्प नेपाल सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पुरुष तर्फको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा हराउँदै हेल्प नेपाल उपाधि नजिक पुगेको हो।
रोमान्चक खेलको पहिलो सेट हेल्प नेपालले २५-२१ ले जितेको थियो । दोस्रो सेट पुलिसले २६-२४ ले आफ्नो बनायो ।
तेस्रो सेट हेल्प नेपालले २५-१७ ले जित्यो भने चौंथो सेट पुलिसले २५-२० ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौ सेट हेल्प नेपालले १५-८ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।
अब हेल्प नेपालले उपाधिका लागि आइतबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
आर्मीले एपीएफलाई ३-० को सेटमा हराएर फाइनल पुगेको हो ।
महिलातर्फको फाइनलमा न्यु डायमण्ड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।