काठमाडौं । सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज शनिबार ४ खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार महिलातर्फ र पुरुषतर्फका दुई दुई सेमिफाइनल खेलहरु हुनेछन् ।
सुरुआतमा महिलातर्फको सेमिफाइनल खेल हुनेछ । जसअन्तर्गत पहिलो सेमिफाईनल खेलमा समूह 'ए' को बिजेता नेपाल पुलिस क्लब तथा समूह 'बी' को उपबिजेता नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । खेल बिहान १० बजे सुरु हुनेछ ।
महिलातर्फको दोस्रो सेमिफाइनल खेलमा समूह 'ए' को उपबिजेता न्यु डायमण्ड एकेडेमी र समूह 'बी' को बिजेता त्रिभुवन आर्मी क्लबबीचमा हुनेछ । खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र हेल्प नेपालबीच खेल हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।