काठमाडौं । हेल्प नेपालले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएर हेल्प नेपालले लगातार तेस्रो जित निकालेको हो ।
हेल्प नेपालले मधेशमाथि २५-१८,२५-२२ र २५-८ को सेटमा जित निकालेको हो ।
जितसँगै समूह 'डी' को हेल्प नेपालले ९ अंक जोडेको छ । हेल्प नेपाल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
पुरुषतर्फ नै यस अघिको खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई हराएर केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रले क्वाटरफाइनलमा स्थान बनाएको छ । केशवलाल समूह 'डी' को उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको हो ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।