काठमाडौं । विभागीय टोली एपीएफ क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा स्थान बनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा कृष्ण एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपीएफले कृष्णलाई २५-४,२५-६ र २५-३ ले हराएको हो ।
यस जितसँगै समूह 'बी' को एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले गण्डकीलाई हराएको थियो ।
च्याम्पियनसिपको महिलातर्फको बिहीबार हुने दोस्रो खेलमा न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लबबीचमा हुनेछ । खेल बिहान १० बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको पहिलो खेलमा बुढानिलकण्ढ भलिबल क्लब र केशवलाल भलिबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ । खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लब टिपटप हेल्प नेपाल र मधेश प्रदेशबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको तेस्रो खेलमा ढोरपाटन स्पोर्टस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा नेपाल एपीएफ क्लब र शैलुङ्ग भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।