काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले लगातार तेस्रो जित निकालेको हो । पुलिसले गण्डकीलाई २५-२३,२५-२१,२४-२८ र २५-१५ ले हराएको हो ।
यस जितसँगै पुलिस समूह 'सी' को समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पुलिसले ३ खेलमा ६ अंक जोड्यो । गण्डकीको पनि क्वाटरफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ ।
पुलिसले अब क्वाटरफाइनलमा दावाली मिलन क्लबसँग खेल्नेछ । दावाली समूह 'ए' को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
च्याम्पियनसिप अन्तर्गत आज पुरुषतर्फ थप दुई खेल हुँदैछ ।
अब टिपटप हेल्प नेपाल र केशवलाल भलिबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ।
त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा जावलाखेल भलिबल क्लब र शैलुङ्ग भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।