काठमाडौं । दावाली मिलन क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार मणिमुकुन्द भलिबल क्लबलाई ३-१ को सेटमा हराएर दावालीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
दावालीले पहिलो सेट २१-२५ ले गुमाएपनि त्यसपछिको सेट २५-२१, २५-२२ र २५-२३ ले जित्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
जितसँगै दावाली समूह ‘ए’ को उपविजेताको रुपमा क्वाटरफाइनलमा पुगेको हो । दावालीले २ खेलमा ३ अंक जोड्यो । मणिमुकुन्द भने बाहिरिएको छ ।
यस समूहबाट त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
पुरुषतर्फ नै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।
गण्डकीले न्युटन भलिबल एकेडेमीलाई २५-१२, २५-१७ र २५-२२ ले हराएर सुखद सुरुआत गरेको हो ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।