काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार जावलाखेल भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफले पहिलो जित निकालेको हो ।
एपीएफले जावलाखेलमाथि २५-९,२५-१४ र २५-१५ ले हराएको हो ।
यस अघि केशवलाल मेमोरियल भलिबल ट्रेनिङ सेन्टरले मधेश प्रदेशलाई २५-२१,२५-२३,२७-२९ र २५-१७ ले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
त्यस्तै हेल्प नेपालले पनि बुढानिलकण्ठ स्पोर्ट्स क्लबलाई २५-१६,२५-१९ र २५-१६ ले हराउँदै सुखद सुरुआत गरेको छ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी(एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।