काठमाडौं । हेल्प नेपालले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार बुढानिलकण्ठ स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालले सुखद सुरुआत गरेको हो ।
उपाधि दाबेदार मानिएको हेल्प नेपालले बुढानिलकण्ठलाई २५-१६,२५-१९ र २५-१६ ले हराएको हो ।
जितसँगै समूह 'डी' को हेल्प नेपालले ३ अंक जोडेको छ । बुढानिलकण्ठले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
च्याम्पियनसिप अन्तर्गत नै आज पुरुषततर्फ थप तीन खेल हुँदैछ ।
पुरुषतर्फ आजको दोस्रो खेलमा केशबलाल मेमोरियल भलिबल क्लब र मधेश प्रदेशबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा एपीएफ क्लब र जावलाखेल भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।