काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हराएर पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
पुलिसले एभरेस्टविरुद्ध २५-१४, २५-९ र २५-६ को जित निकालेको हो ।
जितसँगै समूह 'ए' मा रहेको पुलिसले २ खेलमा ६ अंक जोडेको छ ।
पुलिस समूहको शीर्ष स्थानमा रहेको छ ।
पुलिसले पहिलो खेलमा नयाँबजार युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
सोमबार बिहान भएको महिलातर्फ नयाँबजार युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सुखद सुरुआत गरेको छ ।
न्यु डायमण्डले नयाँबजारमाथि २५-२, २५-८ र २५-६ ले हराएको हो । जितसँगै समूह 'ए' को न्यु डायमण्डले ३ अंक जोडेको छ ।
पुरुषततर्फ सोमबार हुने पहिलो खेलमा हेल्प नेपाल र बुढानिलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ । खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको दोस्रो खेलमा केशबलाल मेमोरियल भलिबल क्लब र मधेश प्रदेशबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा एपीएफ क्लब र जावलाखेल भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।