काठमाडौं । साविक विजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको उद्घाटन खेलमा दावाली मिलन क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले विजयी सुरुआत गरेको हो ।
उपाधि रक्षाको योजनामा रहेको आर्मीले दावालीलाई २५-२०,२५-२१ र २५-२१ ले हराएको हो ।
यस जितसँगै आर्मीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । दावालीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
समूह 'ए' मा रहेको आर्मी समूहको शीर्ष स्थानमा समेत रहेको छ ।
च्याम्पियनसिप अन्तर्गत नै आइतबार नेपाल पुलिस क्लबले न्युटन भलिबल एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै सुखद सुरुआत गरिसकेको छ ।
उपाधि दाबेदार मानिएको पुलिसले न्युटनमाथि २५-१६,२५-१७ र २५-१६ ले हराएको हो ।
नेपाल पुलिस क्लबले यस जितसँगै समूह 'सी' को पुलिसले पहिलो खेलमा ३ अंक जोडेको छ । न्युटनले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
च्याम्पियनसिपकै महिलातर्फ दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।
आर्मीले कृष्ण माध्यमिक एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै सुखद सुरुआत गरेको हो ।
पुलिसले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको हो ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब रहदा समूह 'बी' मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र शैलुंग बागढुंगा स्पोर्ट्स क्लब परेका छन् ।
यस्तै समूह 'सी' मा नेपाल पुलिस क्लब, न्युटन भलिबल एकेडेमी, ढोरपाटन स्पोर्ट्स क्लब र गण्डकी प्रदेश रहदा समूह 'डी' मा टिप टप हेल्प नेपाल, बुढानिलकण्ठ स्पोर्ट्स क्लब, केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र र मधेश प्रदेश रहेका छन् ।
महिलातर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहनेछन् ।
समूह 'बी' मा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कृष्ण माध्यमिक एकेडेमी र त्रिभुवन आर्मी क्लब छन् ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।