काठमाडौं । त्रिभुवन आर्मीको महिला टोलीले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा कृष्ण माध्यमिक एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।
आर्मीले पहिलो सेट २५-३, दोस्रो सेट २५-५ र तेस्रो सेट २५-१० ले आफ्नो बनाएको हो ।
जितसँगै समूह 'बी' को आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ । कृष्णले भने हारबाट प्रतियोगिताको सुरुआत गर्नेछ।
महिला तर्फ नै पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
च्याम्पियनसिप अन्तर्गत आज आइतबार पुरुषतर्फ दुई खेल हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब रहदा समूह 'बी' मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र शैलुंग बागढुंगा स्पोर्ट्स क्लब परेका छन् ।
यस्तै समूह 'सी' मा नेपाल पुलिस क्लब, न्युटन भलिबल एकेडेमी, ढोरपाटन स्पोर्ट्स क्लब र गण्डकी प्रदेश रहदा समूह 'डी' मा टिप टप हेल्प नेपाल, बुढानिलकण्ठ स्पोर्ट्स क्लब, केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र र मधेश प्रदेश रहेका छन् ।
महिलातर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहनेछन् ।
समूह 'बी' मा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कृष्ण माध्यमिक एकेडेमी र त्रिभुवन आर्मी क्लब छन् ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।
त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी-एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।