काठमाडौं । घरेलु लिग सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन नसकेपछि अखिल नेपाल फुटबल संघ एन्फाले चौधरी समूहको नेपाल इभेन्ट एण्ड स्पोर्टस म्यानेजमेन्ट कम्पनीलाई फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजनाको अनुमती दिएको छ । यस सिजनको घरेलु लिग सञ्चालनका लागि स्रोत जुटाउन कठिन देखिएपछि आफैले पटक पटक वेवस्ता गर्दै आएको प्रतियोगितासँग एन्फाले ८ वर्षको नयाँ सम्झौता गरेको छ ।
प्रतियोगिताको आयोजना, सम्झौताको ड्राफ्ट र एन्फाको निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले एनएसएलको विरोध गर्दै आएका थिए । अपारदर्शी रुपमा चौधरीलाई प्रतियोगिता आयोजनाको अधिकार दिएको, कार्यसमितिबाट निर्णय नगराएको लगायतका आरोप नेम्वाङले तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पामाथि लगाउँदै आएका थिए ।
एनएसएलको दोस्रो संस्करणको आयोजनाको मुखमा ए डिभिजनका क्लबलाई उचाल्नेदेखि प्रतियोगितालाई मोफसलको गोल्डकप सरहको प्रतियोगिताको रुपमा मिडियाबाजी गरेर एनएसएललाई असफल बनाउने क्रियाकलापमा एन्फाको वर्तमान नेतृत्वले अगुवाई गरेको थियो । ए डिभिजनका क्लबसँग छलफल नगरि एनएसएल आयोजना गर्न नदिने भन्दै एन्फा चुनावमा क्लबलाई प्रयोग गरिएको थियो ।
तर आफैले उठाउँदै आएको पारदर्शीताको प्रश्न, कार्य समितिलाई छल्दै, ए डिभिजनका क्लबसँग छलफल नगरि र एनएसएलबारे निर्णय गर्न एन्फा कार्यसमितिले गठन गरेको समितिलाई बाइपास गर्दै एन्फाको वर्तमान नेतृत्वले एनएसएलसँग ८ वर्षको नयाँ सम्झौता गरेको छ ।
अध्यक्षमा निर्वाचित भए लगत्तै पंकज बिक्रम नेम्वाङले एनएसएलसँग एन्फाले गरेको सम्झौता रद्ध गर्ने निर्णय गरेका थिए । उनले सम्झौताको प्रारुप तयार गर्न र नयाँ निर्णय लिन एन्फा कार्यसमितिमार्फत समितिनै गठन गरेका थिए । चुनावपछि एनएसएलको मिति माग्न फुटबल संघको हेडक्वार्टर पुग्ने आयोजक नेपाल इभेन्ट एण्ड स्पोर्टस म्यानेजमेन्ट कम्पनीका अधिकारीलाई एन्फा पदाधिकारीले समय र निर्णय नदिएर मानमर्दन गर्ने कार्यसम्म गर्न भ्याएका थिए । एन्फाको नयाँ नेतृत्व प्रतियोगिताप्रति अनुदार देखिएपछि एनएसएलको आयोजक टिम कार्यक्रम गर्न नसकिने निष्कर्शमा पुगेको थियो । तर मंगलबार एन्फाले एकाएक एनएसएलसँग ८ वर्षको सम्झौता गरेको जानकारी सार्वजनीक गर्यो । सम्झौताको ८ वर्षमा करिब १७ करोड पाउने गरि एन्फाले नयाँ सम्झौता गरेको छ ।
कसरी भयो सम्झौता ?
नेतृत्वमा आएपछि अध्यक्ष नेम्वाङले फुटबलमा आशा जागृत गर्न सकेका छैनन् । राष्ट्रिय टिमकै खेलाडी एकपछि अर्को गर्दै विदेश पलायन भैरहेका छन् । फुटबलको अभिभावक संस्थाले यसमा बेखबर जस्तै छ । तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र गणेश थापाको अन्तरविरोधमा खेल्दै एन्फा नेतृत्वमा पुगेका नेम्वाङ फुटबल संघ चलाउन नसक्ने अवस्थामा पुगेका छन् । निकै दबाबका बीच उनले पुस २८ गतेदेखि ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेका थिए । तर पहिलो किस्ता वापतको तयारी खर्च दिन नसक्दा क्लबहरु लिग खेल्न नसक्ने भन्दै एन्फाको ध्यानाकर्षण गराएका थिए । तयारी खर्च दिन एन्फासँग पैसा छैन ।
तयारी खर्च नपाए लिग नखेल्ने क्लबको अडान, घरेलु लिग सञ्चालन गर्नुपर्ने खेलाडी र फुटबल खेलाडी संघको दबाबका बीच कतार विश्वकपमा रहेका नेम्वाङ नेपाल आएका थिए । पछिल्लो समय फिफा र एएफसीको आर्थिक प्रतिबन्ध भोगिरहेको एन्फासँग आफ्नै नियमिति आय स्रोत पनि छैन । पर्याप्त अध्ययय र सम्भावनानै नहेरि क्लबलाई तयारी खर्च वापत साढे ३२ लाख दिने निर्णय नेम्वाङले गरेका थिए । त्यो निर्णय अहिले नेम्वाङ आफैलाई घाँडो बनेको छ ।
क्लब र खेलाडीको अडानका बीच तयारी खर्च जुटाउन नसक्ने अवस्थामा एन्फा पुगेको थियो । लिगनै गर्न नसकेको असक्षमताको भारी आफुले बोक्नुपर्ने देखिएपछि नेम्वाङले पैसा जुटाउने बाटो एनएसएललाई देखे । कतारबाट नेपाल ओर्लिने बित्तिकै उनले एनएसएलको आयोजकसँग सम्पर्क गरेका थिए । तत्काल पैसा दिने भए एनएसएलको नयाँ सम्झौता गरिदिने उनको प्रस्ताव थियो । स्रोतकै अभावमा भौतारिएर उनी सहयोगको अपिल सहित राखेपसम्म पुगेका थिए । तर एउटै संघे मागे जस्तो ५–७ करोड एन्फालाई राखेपले दिन नि सक्दैन थियो ।
सोही कारण एकमात्र विकल्पको रुपमा रहेको एनएसएललाई ८ वर्षको सम्झौता दिएर नेम्वाङले पहिलो वर्षको साढे १ करोडको चेक बुझेका छन् । त्यही चेकले पुस २८ गतेदेखि लिग गराउने प्रयासमा नेम्वाङ जुटेका छन् । पटक पटक आफैले विरोध गराएर ‘थाङ्ना’मा पुर्याएको र एन्फा परिसरमा पटक पटक मानमर्दन गर्दै अपमानित गरेको चौधरीकै शरणमा नेम्वाङ पुगेका छन् । सम्झौताबाट केही पैसा बटुलेर घरेलु लिग सुरु गर्ने उनको तयारी छ ।
कार्यसमितिका बहुसंख्य सदस्यलाई कतार विश्वकपको टिकट दिएर एनएसएलसँग सम्झौता गर्ने अधिकार नेम्वाङले आफुसँग लिएको एन्फा स्रोत बताउँछ । सोही सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै नेम्वाङ विदेश कार्यक्रमका लागि उडे, महासचिव किरण राईले एनएसएल आयोजकसँग सम्झौताको फोटो खिचाए । सम्झौताको एउटा बुँदा सच्चाउन पर्ने भयो । तर हस्ताक्षर गर्ने अध्यक्ष विदेशमा भएपछि पछि मिलाउने गरि महासचिव किरण राईले चौधरीसँग डेढ करोडको चेक बुझ्ने काम सम्पन्न गरे ।