काठमाडौं । पहिलो संस्करणको बंगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको अन्तिम तयारीमा रहेको नेपाली टिमले विभिन्न निकायबाट सहयोगको आश्वासन मात्र पाएको सहायक प्रशिक्षक भरत यादवले बताएका छन् ।
नेपाल यू-२३ भलिबल टोलीका सहायक प्रशिक्षक भरत यादवले नेपाल सरकार तथा राष्ट्रिय खेलकुद परिषदबाट सहयोगको आश्वासन मात्र पाएको बताएका छन् ।
'नेपाल सरकार तथा राखेपबाट सहयोगको आश्वासन त आएको छ ,' यादवले खेलपाटीसँग भने 'अहिले अभ्यासका लागि सम्पूर्ण खर्च नेपाल भलिबल संघले नै व्यहोरी रहेको छ । भलिबल संघले कुनै कन्जुस्याई नगरी खर्च गरिरहेको छ ।'
संघले १ महिना देखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखी स्तरिय तयारी गरिरहेकाले हामीले फाईनलसम्मको लक्ष्य राखेको यादवले बताए ।
'हामीले दिनको ८ घण्टा भन्दा लामो समय अभ्यास गराईरहेका छौ । खेलाडीहरुको स्तरमा धेरै सुधार भएको हामीले पाएका छौ ।' उनले भने 'हाम्रो तयारी तथा हरेक पक्षको विश्लेषण गरेर हामीले फाईनल सम्मको लक्ष्य राखेका छौं ।'
सबै खेलाडी राष्ट्रिय टोलीमा सहभागी नभएका फ्रेस खेलाडी भएकाले उनीहरुमा अन्तराष्ट्रिय खेलको अनुभव नरहनु लागि चुनौती रहेको उनले बताए ।
बंगलादेशमा आयोजना हुने यस प्रतियोगिता यही पुस ७ गतेबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल र आयोजक बंगलादेश सहित किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
पुस ७ गते सुरुआत हुने यस प्रतियोगितामा नेपालले उद्घाटन खेलमा आयोजक राष्ट्रको सामना गर्नेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा हुनेछ ।
दोस्रो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा पुस ९ गते किर्गिस्तानसॅंग खेल्नेछ।
प्रतियोगिताको फाईनल खेल पुस ११ मा हुनेछ ।