काठमाडौं । पहिलो संस्करणको बंगबंन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तराष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले च्याम्पियन हुने लक्ष्य लिएको छ ।
नेपाल यू-२३ भलिबल टोलीका कप्तान धिरोज कुमार बस्नेतले टोलीले च्याम्पियन बन्ने लक्ष्य राखेर तयारी गरिरहेको बताए ।
यसै प्रतियोगितालाई लक्षित गरेर नेपालले पहिलो पटक यू-२३ भलिबल टिम बनाएको हो ।
'नेपालको भलिबल ईतिहासमा नै पहिलो पटक यू-२३ टिम तयार भएकोमा आफुले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको छ,' बस्नेतले खेलपाटीसँग भने 'तयारी पनि राम्रो भईरहेको छ । विगत महिना दिनबाट हामी बन्द प्रशिक्षणमा नै रहेकोले नतिजा उत्कृष्ट ल्याउने छौ ।'
देशभरबाट छानीएका ८५ जनाबाट अन्तिम १४ छनोट गरिएको भएर टिम उत्कृष्ट रहेको कप्तान बस्नेतको भनाई थियो।
प्रतियोगितामा जम्मा चार टोलीको मात्र सहभागीता रहेकोले राम्रो खेलेमा च्याम्पियन बन्न केही सहज रहेको उनले बताए।
'विभिन्न विभागीय टोलीसँग अभ्यास खेल खेल्न पाएकाले हामीले केही अनुभव पनि हासिल गरेका छौ' बस्नेतले भने 'यही अनुभव र मेहनत जारी राखेमा हाम्रो यात्रा च्याम्पियन बनेर नै सकिनेछ ।'
बंगलादेशमा आयोजना हुने यस प्रतियोगिता यही पुस ७ गतेबाट सुरु हुनेछ । प्रतियोगितामा नेपाल र आयोजक बंगलादेश सहित किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ ।
पुस ७ गते सुरुआत हुने यस प्रतियोगितामा नेपालले उद्घाटन खेलमा आयोजक राष्ट्रको सामना गर्नेछ । खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा हुनेछ ।
दोस्रो खेलमा पुस ८ गते श्रीलंकासँग खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा पुस ९ गते किर्गिस्तानसॅंग खेल्नेछ ।
प्रतियोगिताको फाईनल खेल पुस ११ मा हुनेछ ।