काठमाडौं । साउदी अरबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा ऐतिहासिक स्वर्ण पदक विजेता नेपाली टोली स्वदेश फर्किएका छन् ।
दुई खेलाडी र एक प्रशिक्षकसहित तीन सदस्सीय नेपाली टोली सोमबार स्वदेश फर्किएका हुन् ।
नेपाली टोलीलाई तेक्वान्दो संघका पदाधिकारीले बिमानस्थलमा स्वागत गरेका थिए ।
प्रतियोगितामा नेपालकी सिर्जना घिसिङले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
सिर्जनाले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२-० अंकले हराएर स्वर्ण पदक जितेकी हुन् । मेर्यम पारा तेक्वान्दोमा विश्व नम्बर एक खेलाडी हुन् ।
सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएकी थिइन् ।
विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।
सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् ।
सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धनले सहभागिता जनाएका थिए । पलेशा भने क्वाटरफाइनलबाट बाहिरिएकी छिन् ।
नेपाली टोलीको प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा थिए ।