काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपलाई भारतीय कम्पनी १०० स्पोर्ट्सले साथ दिएको छ ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा कात्तिक २५ र २६ गते आयोजना हुने प्रतियोगितालाई १०० स्पोर्ट्सले सहप्रायोजन गरेको हो ।
१०० स्पोर्ट्सका नेपाल प्रमुख विकास खेतान र प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको खेलपाटी डटकमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिम बिक्रम केसीले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिता २४ पुरुष र २ महिला टोलीले सहभागिता जनाउने छन् ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा सबै टोली नेपालको बैंक तथा वित्तिय संस्थाको टोली हो ।
प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा)को फुटसल कमिटीको प्राविधिक सहयोग रहेको छ ।
पहिलो संस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो ।