पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् ।
पोखरास्थित फिस्टेल एकेडेमीमा शनिबार भएको खेलमा तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।
यसअघि सर्ट कोर्सको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा रहेको थियो। उनले २०१९ मा यो कीर्तिमान बनाएका थिए। दोर्जेको २ मिनेट १६.५० सेकेन्डको कीर्तिमान रहेको थियो।
तेन्जिङको यो दोस्रो स्वर्ण हो । यसअघि उनले ५० मिटर बटरफ्लाईमा स्वर्ण जितेका थिए ।
यस स्पर्धामा प्रदेश नम्बर एकका प्रारम्भ भण्डारीले २ मिनेट २३.६४ सेकेन्डको समय निकाल्दै रजत जित्दा एपीएफका सौरेन बहादुर सिंहले २ मिनेट २५.२३ सेकेन्डको समय निकाल्दै कास्य जिते ।