काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को व्यवस्थापकीय कमजोरीका कारण उमेर समूहको एसियन कप छनोट खेल्न गएका राष्ट्रिय फुटबल टिमका खेलाडीले दुख पाएका छन् ।
सस्तो टिकटको लोभमा धेरै ट्रान्जिट समय राखेर खेलाडीलाई विदेश पठाएको एन्फाको व्यवस्थापकीय कमजोरीका कारण भियतनामबाट फर्कने समय मलेसियाको एयरपोर्टको भुँईमा खेलाडीले २५ घण्टा बिताउनुपर्ने भएको छ ।
नेपालको यू–१७ राष्ट्रिय फुटबल टिम एसियन कप छनोट खेल्न भियतनाम गएको थियो । आईतबार छनोटको अन्तिम खेल सकेको नेपाली टिमलाई हतार हतारमै सोमबार स्वदेश फर्कने बाध्यता एन्फाले सिर्जना गरेको थियो ।
भियतनामबाट साँझ पानै ६ बजे मलेसिया आईपुगेको नेपाली टिमले अब २५ घण्टा ट्रान्जिटमा बिताउनुपर्ने भएको छ । आईतबार मात्र छनोटका खेल सकेका थाकित अवस्थामा रहेका खेलाडीले एयरपोर्टको भुँईमा २५ घण्टा समय गुजार्नुपर्ने भएको हो ।
लामो समयको एयरपोर्ट ट्रान्जिटको समयमा खेलाडीलाई होटलमा राख्नेदेखि सामान्य खानाको व्यवस्था समेत एन्फाले गरेको छैन ।
‘राष्ट्रिय टिमको जर्सी लगाएका खेलाडी मलेसियाको एयरपोर्टमा सुत्नु देशको बेइज्जत हैन त ? राष्ट्रिय फुटबल टिमका खेलाडी भुँईमा सुतेको देख्दा विदेशीले के भन्छ ?’ एन्फाका एक अधिकारी प्रश्न गर्छन् ।
सस्तो टिकटको लोभमा एन्फाले धेरै ट्रान्जिट समय भएको टिकट प्रतियोगिता खेल्न जादा लिने गरेको छ । सस्तोमा टिकट लिदा कमिसन समेत आउने भएका कारण धेरै ट्रान्जिट समय भएको टिकट लिने प्रचलन एन्फमा रहेको संघकै एक पदाधिकारी बताउँछन् ।
एन्फा स्रोतका अनुसार भियतनाम खेल्न जाने नेपाली टिमले अघिल्लो दिनको साँझसम्म समेत टिकट पक्का भएको थिएन । हतार हतारमा लिएको टिकटमा भियतनाम जादानै १४ घण्टाको ट्रान्जिटको समय थियो ।
‘सस्तो टिकट लिन खोजेर यो समस्या आएको छ । एन्फा सचिवालयको व्यवस्थापकीय कमजोरीका कारण खेलाडीले विदेशमा दुख झेल्नु परेको छ ।’ ती पदाधिकारी बताउँछन् ।
धेरै समयको ट्रान्जिट र खेलाडीलाई आराम नपुगेका कारण यू–१७ एसियन कप छनोटको नेपालको प्रर्दशन पनि उल्लेख्य रहन सकेन । नेपाल पहिलो खेलमा थाईल्याण्डसँग ३–० ले, भियतनामसँग ५–० ले र अन्तिम खेलमा चाईनिज ताईपेसँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।