बेसीसहर । लमजुङको बेसीसहरमा जारी दशैं कप यू-२१ फुटसल प्रतियोगिताको फाइनलमा सिमि एफसी र लमजुङ फुटसल रातोबीच प्रतिस्पर्धा हुने भएको छ ।
लमजुङ फुटसलमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा सिमि एफसीले लेकालीलाई ३-१ ले हरायो ।
सिमि एफसीको जितमा मनराज गुरुङले ह्याट्रिक गरे । लेकालीका साजन सारु मगरले एक गोल फर्काए ।
दोस्रो सेमिफाइनलमा लमजुङ फुटसलले राइसिङ बोय्सलाई ७-० गोल अन्तरले हरायो ।
लमजुङको जितमा मिलन गुरुङले ६ गोल गरे । प्रजय गुरुङको नाम एक गोल रह्यो ।
त्यसअघि पहिलो क्वाटरफाइनलमा लेकालीले बान्सरलाई ३-० ले पराजित गरेको थियो । लेकालीको जितमा प्रज्ज्वल गुरुङ, कौशल थापा र संगम थापाले एक एक गोल गरे ।
दोस्रो क्वाटरफाइनलमा सिमिले रापसिगलाई ६-४ ले पराजित गरेको थियो । सिमिका लागि मनराज गुरुङले ५ र सुदिप गिरिले १ गोल गरे । रापसिगका यूकेश गुरुङले २ र प्रमिश गुरुङ र सुजन लामाले १/१ गोल गरे ।
तेस्रो क्वाटरफाइनलमा लमजुङ फुटसलले एलजी ग्रुपलाई ३-२ ले हरायो । लमजुङको जितमा रबिन तामाङ, दिपेश गुरुङ र मिलन गुरुङले १/१ गोल गरे । एलजीको लागि विजय गुरुङले एक गोल गर्दा प्रज्ज्वल गुरुङले आत्मघाती गोल गरे ।
चौंथो क्वाटरफाइनलमा राइसिङले लमजुङ फुटसल (निलो) लाई ३-२ ले पराजित गर्यो । राइसिङका लागि अर्जुन गुरुङले २ र सुरज गुरुङले १ गोल गरे । लमजुङका सुमन गुरुङ र जीवन गुरुङले १/१ गोल गरे ।
लमजुङ फुटसलले आयोजना गरेको प्रतियोगिताको विजेताले ४० हजार पाउने छन् । यस्तै दोस्रो हुने टोलीले १५ हजार पाउने छन् ।
उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले १ हजार पाउने छन् ।