काठमाडौं । बेल्जियममा रहेका नेपाली समुदायले स्थापना गरेको अन्नपूर्ण ब्रसेल्स क्लब र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल आयोजना भएको छ ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार आयोजना भएको मैत्रीपूर्ण खेलमा एनएसजेएफले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित गर्यो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा अन्नपूर्ण ब्रसेल्स क्लबले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन । एनएसजेएफको तर्फबाट बासु अवाल र दिल तामाङले समान दुई दुई गोल गरे । अभिनव जोशीको नाममा एक गोल रह्यो ।
अन्नपूर्णका लागि सन्तोष खड्काले दुई गोल गरे । नीराजन श्रेष्ठ र नरेश खड्काले १÷१ गोल थपे ।
मैत्रीपूर्ण खेलको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले विदेशमा रहेर पनि खेल क्षेत्रमा सक्रिय नेपालीहरूको प्रशंसा गर्दै नेपाली खेलकुद विकासका लागि सरकारले पनि नयाँ योजना अगाडि बढाइरहेको बताए ।
विजेता मन्चलाई नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य राजुकाजी शाक्यले ट्रफी तथा मेडल प्रदान गरे ।
नेपाल खेलकुद पत्रकार मन्चका अध्यक्ष देवेन्द्र सुबेदीले विदेशमा बसेर नेपाली हिमालको पहिचानसहित खेलकुद क्षेत्रमा योगदान गर्दै आएकोमा क्लबका सम्पूर्ण सदस्यहरूको प्रसंशा गरे ।
अन्नपूर्ण ब्रसेल्स क्लबका कोषाध्यक्ष तथा टोलीका कप्तान सन्तोष खड्काले नेपाली खेलकुदप्रति आफुहरु सदैव नजिक रहेको र विदेशमा पनि विभिन्न खेलकुद गतिविधिमार्फत आफ्ना देशका जनतालाई जोड्ने काम गरेको उल्लेख गरेका थिए ।
सन् २०१० देखि स्थापित यो क्लबले फुटबल र म्याराथनका प्रतियोगिता पनि आयोजना गर्दै आएको छ । यो क्लब बेल्जियम रोयल फुटबल फेडेरेसनमा पनि दर्ता रहेको क्लबक कप्तान सन्तोष खड्काले जानकारी दिए ।