काठमाडौं । नासिर याह्या हुसेन र डुवाना लामाले १० औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा मंगलबार नयाँ कीर्तिमान राख्न सफल भएका छन् ।
नेपाल पौडी संघले आयोजना गरेको प्रतियोगितामा अन्तर्गत नासिरले १०० मिटर ब्याकस्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनेट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनेट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् ।
यसैगरि नासिरले १०० मिटर बटरफ्लाईमा १९ मार्च २०२१ मा सिंगापुरमा आयोजना भएको ५१ औं सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेन्डको रेकर्ड भंग गर्दै अर्को ५९.६० को नयाँ कीर्तिमान कायम गरेका छन् ।
यस्तै डुवानाले आफैले हिट चरणमा आफैले कायम गरेको ३५.८९ सेकेन्डका समयमा सुधार गर्दै ३५.८३ को नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
यस अघि हिट चरणमा यस्तै तेन्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगताको अघिल्लो संस्करण सेप्टेम्बर २०१९ मा भएको ९ औं एनएसए कप २०१९ मा राखेको १ मिनेट ८.२५ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५.८७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यस विधामा नासिरले पनि १ मिनेट ५.९९ सेकेन्डका साथ कीर्तिमान भंग गरेता पनि अन्तिम कीर्तिमान तेन्जिनको नाममा नै रह्यो ।
डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बेङ्गलोरमा आयोजना भएको एशियन उमेर समूह च्याम्पियनसिप २०१९ मा राखेको ३५.९४ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डका नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
प्रतियोगितामा निसर्ग बाटिका स्कुल टिम च्याम्पियन बन्न सफल भएको छ । निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो ।
दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको लिटल एन्जल स्कुल १ स्वर्ण ३ रजत र ३ कास्यका साथ २२ अंक प्राप्त गर्यो ।