काठमाडौं । नासिर याह्या हुसेनले १० औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा सोमबार थप ३ स्वर्ण जितेका छन् ।
नेपाल पौडी संघले आयोजना गरेको पौडी प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायल, १०० मिटर ब्रेष्ट स्ट्रोक र १०० मिटर बटरफ्लाईमा स्वर्ण जितेका हुन् । यससँगै जारी प्रतियोगितामा उनको स्वर्ण संख्या ५ पुगेको छ ।
सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगितामा नासिरले २०० मिटर फ्रिस्टायलमा २ मिनेट ३.८० सेकेन्डका साथ स्वर्ण जितेका हुन् । दोश्रो भएका ईरभिन श्रेष्ठले २ मिनेट ८.९४ सेकेन्डमा पूरा गरे । यस्तै तेश्रो स्थानमा रहेका तेन्जिन नामडोल रायन गुरुङले २ मिनेट ९.०३ सेकेन्डमा पूरा गरे ।
यस्तै १०० मिटर ब्रेष्ट स्ट्रोकमा नासिरले १ मिनेट १२.४५ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । दोश्रो स्थानमा १ मिनेट १२.६८ सेकेन्डमा दुरी पूरा गर्दै विकास कुमाल रहे । तेश्रो स्थानमा रहेका दिपङ्कर अवालेले १ मिनेट १४.६० सेकेन्डमा दुरी पूरा गरे ।
१०० मिटर बटरफ्लाईमा नासिरले ५९.६० सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जिते । यस विधामा अनुभव सुब्बाले १ मिनेट ००.२५ सेकेन्डमा दुरी पूरा गर्दै रजत र अल्भिन महर्जनले १ मिनेट ५.२९ सेकेन्डका साथ कास्य पदक प्राप्त गरे ।
महिलातर्फ दुवाना लामाले २ स्वर्ण र एक रजत प्राप्त गरिन् । दुवानाले २०० मिटर फ्रिस्टायलमा २ मिनेट १८.०५ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् । निभा मास्केले २ मिनेट १९.१५ सेकेन्डमा दुरी पूरा गर्दै रजत र अनुशिया तण्डुकारले २ मिनेट २४.७० सेकेन्ड समयका साथ कास्य पाए ।
यस्तै उनले १०० मिटर ब्रेष्टस्ट्रोकमा १ मिनेट १८.७७ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पाईन् । यस विधामा उपास्ती महर्जनले रजत प्राप्त गरिन् । उनले उक्त दुरी १ मिनेट २३.६३ सेकेन्डमा पूरा गरिन् । तेश्रो स्थानमा रहेकी रोयल प्रजापतीले १ मिनट २६.६७ सेकेन्डमा दुरी पूरा गरिन् ।
दुवानाले १०० मिटर बटरफ्लाईमा निभा मास्केसँग पराजित हुदै रजतमा चित्त बुझाईन् । निभाले १ मिनट ९.५१ सेकेन्डमा साथ स्वर्ण, दुवानाले १ मिनट १२.३८ सेकेन्डका साथ रजत र सियरा सुभाङ्गी बजागाईले १ मिनेट २४.१५ सेकेन्डका साथ कास्य पाईन् ।