काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको नेतृत्व परिवर्तनसँगै फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को आयोजनामा अन्यौलता देखिएको छ । भदौको अन्तिम सातादेखि दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्ने स्विकृति पाएको नेपाल स्पोर्टस इभेन्ट एण्ड म्यानेजमेन्ट कम्पनी एन्फाको नेतृत्व परिवर्तनसँगै अन्यौलमा परेको हो ।
चुनाव लगत्तै एनएसएलको व्यवस्थापन टिम नयाँ नेतृत्वलाई बधाई दिन एन्फा मुख्यालय पुगेको थियो । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बधाई दिदै एनएसएलको टिमले प्रतियोगिताको निरन्तरताको विषयमा चासो राखेको थियो ।
नवनिर्वाचित अध्यक्ष नेम्वाङले एनएसएलको विषयमा सर्वपक्षिय छलफल गरेर निर्णय लिने बताएका थिए । उनले एन्फा, एनएसएल र ए डिभिजनका क्लबबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्नुपर्ने धारणा राखेका थिए । फ्रेन्चाइज फुटबलको आयोजनामा ए डिभिजनका क्लबले गम्भिर आपत्ती जनाएको स्मरण गराउँदै उनले छलफलबाट मात्र नयाँ निर्णयमा पुग्नुपर्ने धारणा राखेका थिए ।
ए डिभिजनका केही ठुला क्लबले आपत्ती जनाएपछि चैतमा हुने भनिएको दोस्रो संस्करणको एनएसएल आयोजना हुन सकेन । जसमा तत्कालिन एन्फा कार्यसमितिका पदाधिकारीको समेत बिमती रहेको थियो । तिनै कार्यसमितिका पदाधिकारी एन्फा चुनाव जितेर आएका छन् । सोही कारण दोस्रो संस्करणको एनएसएल आयोजनामा अन्यौलता देखिएको छ ।
यसअघिको एन्फा कार्यसमितिले भाद्र २५ देखि कात्तिक ५ गतेसम्म प्रतियोगिता आयोजनाको अनुमती दिएको थियो । एन्फाबाट स्विकृति पाएपनि एनएसएलले दोस्रो संस्करणको तयारी अघि बढाएको छैन । तत्कालिन एन्फाको लापरबाही, फुटबल भित्रको फोहोर राजनीतिक र ए डिभिजनका केही ठुला क्लबको विरोधका कारण एनएसएलको भविष्य संकटमा परेको छ ।
एनएसएलको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदीप शर्माले एनएसएल आयोजनका लागि एन्फाको प्रतिक्रिया प्रतिक्षा गरेर बसेको खेलपाटीलाई बताए । ‘प्रतियोगिता आयोजनामा एन्फा रहेको जवाफ पाएका छौं । तयारीका साथ बसेका छौं । कुराकानी सकारात्मक रुपमा अघि बढिरहेको छ ।’ उनले भने । सिइओ शर्माले एन्फाको नयाँ नेतृत्व एनएसएललाई लिएर सकारात्मक रहेको प्रतिक्रिया आफुहरुले पाएको बताए ।
एनएसएल र एन्फाबीचको सम्झौताका कतिपय बुँदालाई लिएर ए डिभिजनका ठुला क्लब असन्तुष्ट छन् । एनएसएलको लिगलाई फिफा, एएफसीमा मान्यता दिलाउन एन्फाले पहल गर्ने सम्झौताको बुँदाले ए डिभिजनका क्लबलाई झस्काएको छ । सम्झौताबाट सो बुँदा हटाउनुपर्ने ए डिभिजनका क्लबहरुको माग छ । आफुसँग सम्झौतामा रहेका खेलाडीलाई बिना जानकारी एनएसएलका क्लबले अनुबन्ध गरेपछि ए डिभिजनका क्लबले चर्को असन्तुष्टि जनाएका थिए ।
देशका १० शहरलाई फ्रेन्चाइज क्लबको रुपमा प्रस्तुत गरेर गत वर्ष सुरुवात गरिएको एनएसएल दोस्रो संस्करण सुरु नहुँदै अन्यौलतामा फसेको हो । एनएसएलमा लगानी गरेका १० क्लबले भने लिगको दिर्घकालिन योजना र सुनिश्चितता आयोजक र एन्फासँग खोजेका छन् ।