काठमाडौं । रामेछापका युवराज लामा र मोरङकी स्मृति कोइराला पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय खुला साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार पहिलो भएका छन् ।
नेपाल दृष्टिविहीन टेबलटेनिस संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा युवराजले ताप्लेजुङका प्रेम लिम्बूलाई ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे । शंखुवासभाका छत्रबहादुर तामाङ र लम्जुङका कुशल न्यौपाने तेश्रो भए ।
चावहिलको मैजुबहालस्थित विश्व शिक्षा सदन विद्यालयमा भएको महिला फाइनलमा स्मृतिले तनहुँकी सनिता भट्टराईलाई २–१ को सेटमा हराइन् । झापाकी सुजाता लिम्बू र तेह्रथुमकी करुण लिम्बू तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ हजार, १ हजार र ५ सय नगद पुरस्कार पाए ।
विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सोही विभागका प्रशासकीय अधिकृत सारङगिन निरौला, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव प्रकाश चिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगिताको पुरुषमा १४ र महिलामा ११ खेलाडीले प्रतिस्पर्धा गरेको साउन्ड टेबलटेनिस प्रशिक्षक कुमार पौडेलले जनाएका छन् । पारा राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुँदैछ ।