काठमाडौं । प्रशिक्षक–खेलाडी विवाद छानविका लागि एन्फाले गठन गरेको समितिले घटनामा सम्बन्धित व्यक्तिसँग बयान लिएको छ ।
एन्फा कार्यसमिति बैठकको निर्णय अनुसार भिक्टोर राणाको संयोजकत्वमा गठन भएको समितिले विवादको केन्द्रमा देखिएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र असन्तुष्ट खेलाडीसँग बयान लिएर सकेको छ ।
एसिया कप छनोटको तयारीको क्रममा प्रशिक्षक र खेलाडीबीच बन्द प्रशिक्षणका लागि बस्ने-खाने प्रबन्धलाई लिएर विवाद सिर्जना भएको थियो । प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएपछि घटना बाहिर आएको थियो ।
घटनाको छानविनका लागि एन्फाले नेपाल आर्मीका पूर्व उच्च पदाधिकारी भिक्टोर राणाको नेतृत्वमा पूर्व खेलाडी बिदुर विष्ट र दिपक थापालाई समावेश गरेर तीन सदस्यीय समिति गठन गरेको छ । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समयसिमा दिईएको छ ।
समितिले विवादमा मुछिएका प्रशिक्षक अलमुताइरी र असन्तुष्ट खेलाडीसँग प्रारम्भिक बयान लिएर छ । छानबिन समितिसँगको बयानमा खेलाडीले आफुहरु निस्किएको नभएर प्रशिक्षकबाट निकालिएको दाबी गरेका छन् ।
‘खेलाडीहरु आफुखुसी निस्किएको जसरी बाहिर प्रचार गरिएको छ, त्यसो हैन । प्रशिक्षकले पटक पटक निस्किएर जानका लागि अपशब्द प्रयोग गरेपछि हामीहरु निस्किएका हौं ।’ खेलाडीले छानबिन समिति समक्ष भनेका छन् ।
असन्तुष्ट खेलाडीहरुले आफुहरुले कुनैपनि खेलाडीलाई बन्द प्रशिक्षणमा फर्काउनुपर्छ भनेर माग नराखेको तर बस्ने÷खाने राम्रो प्रबन्ध हुनुपर्छ भन्ने माग सबै खेलाडीको भएको कुरा प्रशिक्षकसँग राखेको बताएका छन् । सोही कारण प्रशिक्षकले आफुहरुलाई अपशब्द प्रयोग गरेर बन्द प्रशिक्षण छाडेर जान पटक पटक सुचित गरेको खेलाडीको बयान छ ।
राष्ट्रिय फुटबल टिमका उपकप्तान रोहित चन्दले बन्द प्रशिक्षणको क्रममा खान-बस्नको राम्रो प्रबन्धका लागि प्रशिक्षकसँग आग्रह गरेका थिए । उनले होटलमा राखेर प्रशिक्षण अघि बढाउदा खेलाडीलाई सहज हुने धारणा राखेका थिए । तर होटलमा बस्न÷खानको माग गर्ने उपकप्तान चन्दलाई प्रशिक्षक अलमुताइरीले सुरुवातमा राष्ट्रिय टिमबाट निकालेका थिए ।
‘राष्ट्रिय टिममा खेल्न पाउनुपर्छ भन्ने हाम्रो माग हैन । तर घटनामा हाम्रो दोष छैन । त्यसैका लागि छानविनको माग गरेका हौं ।’ एक खेलाडीले बयानका क्रममा भने ।
छानबिन समितिसँगको बयानमा खेलाडीहरुले राष्ट्रिय टिमका रहदाँ प्रशिक्षकले आफुहरुलाई मानसिक रुपमा यातना दिने गरेको बताएका छन् । उनीहरुले अब अलमुताइरीको नेतृत्वमा राष्ट्रिय टिमबाट खेल्न गाह्रो हुने बयान सिनियर १० खेलाडीले दिएका छन् ।
छानविनका क्रममा सिनियर खेलाडीसँग प्रशिक्षक अलमुताईरीको नोक–झोक धेरै पटक परेको देखिन्छ । थाईल्याण्डमा मैत्रीपूर्ण फुटबल खेल्ने क्रममा पहिलो खेलपछि दुई दिन मध्यरातसम्म प्रशिक्षक बाहिर गायब भएको विषयमा कप्तान लगायत सिनियर खेलाडीले असन्तुष्टि जनाएका थिए ।
दुई दिन बिना अभ्यास नेपाली टिम दोस्रो मैत्रीपूर्ण खेलमा मैदान उत्रिएको थियो । प्रशिक्षक र ब्यवस्थापकको लापरबाहीप्रति कप्तान सहित सिनियर खेलाडीले थाईल्याण्डमै ठुलो असन्तुष्टि जनाएका थिए । सोही कारण प्रशिक्षक, ब्यवस्थापक तथा सिनियर खेलाडीबीच दुरी बढेको छानबिनको क्रममा देखिएको छ ।
छानबिन समितिले खेलाडी र प्रशिक्षकसँग बयान लिएर सकेको छ । अफिसियर र एन्फा पदाधिकारीसँग शनिबार बयान लिनेछ । छानबिनका क्रममा छुटेका केही खेलाडीसँग समेत बयान लिन बाँकी रहेको समितिका एक सदस्यले खेलपाटीलाई बताएका छन् ।