काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपालले जित विहीन घर फर्किने भएको छ ।
अफगानिस्तानविरुद्ध समूहको अन्तिम खेलमा मंगलबार ८-१ ले पराजित हुँदै नेपालले खराब अन्त्य गर्यो ।
खेलपछि कप्तान मणिकुमार लामाले टेक्निकल कुरामा पछि पर्दा अफगानिस्तानविरुद्ध पराजित हुनु परेको बताए ।
'यसपटक फिटनेस भन्दा टेक्निकल कुरामा हामी पछि पर्यौं । उनीहरु (अफगानिस्तान) ले ४-० फर्मेसन र पावर गेम खेल्दा हाम्रो खेलाडीलाई नयाँ कुरा भयो,' अफगानिस्तानविरुद्ध कप्तानी गरेका मणिले खेलपछि भने, 'उनीहरुको खेल हाम्रो लागि नयाँ अनुभव भयो । त्यसले गर्दा हाम्रो तालेमेल बिग्रियो र धेरै गोल खान पुग्यौं । यो खेल सिक्ने मौका भयो ।'
यस्तै मणिले अफगानीस्तान बलियो टोली रहेको र उनीहरुसँग धेरै रणनीति भएको करण खेलम पछि परेको समेत बताए । अफगानिस्तानले खेलेको फर्मेसन नेपाललाई नौलो भएको करण मुमेन्टम बिग्रिएको मणिले बताए ।
'अफगानिस्तानसँग पहिलो हाफमा फिटनेसले खेल्यौं । अफगानिस्तान अन्तर्राष्ट्रिय स्तरको टिम हो र उनीहरुसँग हाम्रो भन्दा धेरै रणनीति छ । दोस्रो हाफमा उनीहरुले ४-० को फर्मेसन सुरु गर्ने वित्तिकै २० सेकेण्डमै गोल निकाले ।' उनले थपे, 'यस्तो फर्मेसन नेपालमा हुँदैन । हामी उनीहरुलाई धकेल्दै गरेको अवस्थामा गोल हुँदा मुमेन्टमनै सिफ्ट हुँदै गयो । उनीहरुको रणनीतिले हाम्रो मुमेन्टमनै सिफ्ट भएपछि उनीहरुले फरक फरक रणनीति अपनाए र हामीले खेलमा काउन्टर गर्न नसक्दा धेरै गोल खान पुग्यौं ।'
नेपालले आगामी प्रतियोगिताको लागि टेक्निकल र नयाँ फर्मेसनमा ध्यान दिन जरुरी रहेको मणि बताउँछन् । 'फिटनेसमा हामी उनीहरुसँग मिल्दो जुल्दो छौं मुख्य कुरा अब टेक्निकल प्ले र नयाँ फर्मेसनमा ध्यान दियौं भने आउने समयमा राम्रो हुने छ,' मणिले भने ।
प्रतियोगिताको लागि प्रशिक्षक गौरव बस्नेतको प्राथमिकता युवा खेलाडी रहेको र युवा खेलाडीलाई नयाँ माहोलको करण पुरानो टिमसँग खेलेपनि नतिजा नआएको लामाको बुझाई छ ।
यस्तै लामाले नेपालले काउन्टरमा अट्याक गर्ने रणनीतिमा गोल गर्न नेपाल पछि पर्ने गरेको समेत बताए । 'अन्तर्राष्ट्रिय स्तरमा हाम्रो फिनिस कमजोर छ । हामी जहिल्यै काउन्टरमा अवसर खोजेर बस्छौं र काउन्टरमा फिनिस गर्न गार्हो हुन्छ ।' उनले थपे, ' सायद अनुभवको कमीले होला । नतिजा सोचेको जस्तो भएन ।'
नेपाल समूह चरणको तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१, दोस्रो खेलमा ताजिकिस्तानसँग ११-१ ले पराजित भएको थियो ।