काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८-१ गोल अन्तरले पराजित भएको हो ।
यस हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपाल जित विहीन बनेको छ । नेपाल अंक विहीन बनेर घर फर्किने भएको छ ।
पहिलो मिनेटमा रिजा करिमीले गोल गर्दै अफगानिस्तानलाई सुरुआती अग्रता दिलाएका थिए ।
१५ औं मिनेटमा मोर्टाजा मोहमदीले गोल गर्दै अफगानिस्तानको अग्रता दोब्बर बनाए ।
अलि अमिरीले २४ औं मिनेटमा गोल गर्दै अफगानिस्तानलाई ३-० को अग्रता दिलाए ।
खेलको २५ औं मिनेटमा अब्दुल गाफरले गोल गरेपछि अफगानिस्तानको अग्रता ४-० को बन्यो ।
रिजा करिमीले ३२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि अफगानिस्तान ५-० ले अघि रह्यो ।
कप्तान सायद महदी हसिमीले ३३ औं मिनेटमा गोल गरेपछि अफगानिस्तान आधा दर्जन गोलले अघि रह्यो ।
खेलको ३६ औं मिनेटमा अब्दुल गाफरले गोल गर्दै अफगानिस्तानलाई ७-० को अग्रता दिलाए ।
सुमित श्रेष्ठले ३९ औं मिनेटमा गोल गर्दै नेपाललाई ७-१ को स्थितिमा ल्याए ।
त्यसपछि ४० औं मिनेटमा अब्दुल गाफरले ह्याट्रिक पूरा गर्दै अफगानिस्तानलाई ८-१ को जित दिलाए ।
छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११-१ ले स्तब्ध भएको थियो।
यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तान एसिया कपमा छनोट भएको छ ।
उज्वेकिस्तान शीर्ष स्थानमा रहदै र ताजिकिस्तान दोस्रो स्थानमा रहेर एसिया कपमा पुगेको हो ।