काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले भोलि आइतबार उज्वेकिस्तानको सामना गर्दैछ ।
किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान १०:४५ बजे सुरु हुनेछ ।
छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ । छनोटमा नेपालले अहिलेसम जित निकाल्न सकेको छैन । तर, यस पटक नेपाल दोस्रो चरण पुग्ने लक्ष्यमा रहेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा र अनुभवीसहितको मिश्रित टोलीबाट जित निकाल्नेमा आफु आशावादी रहेको बताए ।
'यो वर्ष हामीसँग युवा र अनुभवी टोलीको मिश्रण छ । यो वर्ष हामी कम्तिमा एक खेल जित्नेमा आत्मविश्वास लिएका छौं', शनिबार आयोजित प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक बस्नेतले भने, 'यहाँ सबै जना जित्नको लागि छौं, आशा छ यो वर्ष दोस्रो चरण पुने लक्ष्य छ तर कम्तिमा एक जितको खोजमा छौं । त्यति धेरै आशा त छैन तर कम्तिमा एक खेल जित्ने चाहना सबैको छ ।'
प्रशिक्षक बस्नेतले महामारी र अन्य टेक्निकल कारण टोलीले दुई महिना मात्र अभ्यासको अवसर पाएको बताउदै सबै टोलीलाई कडा प्रतिस्पर्धा दिने बताए ।
'दुई महिनाको अभ्यास गर्न पायौं । तरपनि हाम्रो तयारी राम्रो छ जस्तो लाग्छ । हामीले सहभागी टिमलाई नियालेका छौं । सबैसँग राम्रो प्रतिस्पर्धा हुने मैले अपेक्षा गरेको छु', उनले थपे ।
प्रशिक्षक बस्नेतले उज्वेकिस्तानविरुद्धको अघिल्ला भेटमा नतिजा राम्रो नभएपनि यस पटक भने सुलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताए ।
'उज्वेकिस्तानसँग हामीले सन् २०१९ र २०१७ मा खेलेका छौं । हामीलाई उनीहरुको खेल थाहा छ र उनीहरुको खेल राम्रोसँग नियालेका छौं', उनले भने, 'सन् २०१७ मा हामीले १४-१ ले पराजित हुँदा सन् २०१९ मा ४-१ मा घटाएका थियौं । आशा छ, यो वर्ष हामीले जित्ने छौं वा कम्तिमा बराबरीको लागि खेल्ने छौं ।'
छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह 'बी' मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।
राष्ट्रिय फुटसल टिम :
गोलकिपर - अनिश श्रेष्ठ, विश्वास पौडेल
फिक्सो - विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ
अला - आदिम हामिद, कृजल खड्का, मनि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
पिभोट - हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ