काठमाडौं । राखेपको सदस्य सचिव विवादमा सर्वोच्च अदालतले मंगलबार तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालको रिट निवेदन खारेज गर्यो । सरकारले गैरकानुनी रुपमा आफुलाई पदमुक्त गर्ने निर्णय गरेको दाबी सहित सिलवालले मन्त्रीपरिषद्को निर्णयविरुद्ध अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले सदस्य सचिव कारबाहीको निर्णय यथास्थितीमा राख्दै माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई छलफलमा बोलाएको थियो । तर अदालती प्रक्रिया लम्बिदै जादा सदस्य सचिवको विवादको टुङ्गो लाग्न करिब चार महिना लाग्यो ।
मंगलबार न्यायाधिशद्धय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिटलाई खारेज गर्दै सरकारको निर्णयको निरन्तरताको पक्षमा फैसला सुनाएको छ । यसले सरकारले नियुक्त गरेको टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ । फैसलाको पूर्ण पाठ आउन बाँकी छ । तर पक्कैपनि यस फैसलाको पूर्णपाठ नेपाली खेलकुदका लागि एउटा नजिरको रुपमा स्थापित हुनेछ । तत्कालिन सदस्य सचिव युवराज लामालाई सर्वोच्च अदालतले राखेपमा पुर्नबहाली गरेको नजिर हेर्दै धेरैको अनुमान सिलवाल त्यही बाटो राखेप फर्कन्छन् भन्ने थियो । तर राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले त्यो बाटो बन्द गरिदिएको थियो ।
सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै सबैभन्दा धेरै समस्या खेलाडी र सिंगो खेलकुदले बोक्यो । राष्ट्रिय खेलकुद प्रतियोगिता यस वर्षपनि हुन पाएन । आसन्न एसियन गेम्सको तयारी अघि बढेन । खेलकुदको वार्षिक कार्यक्रम आएन । ऐन कार्यान्वयन शुन्य जस्तै रह्यो । संघका निर्वाचन भएनन् । अधिकांश राष्ट्रिय खेलकुद संघ निष्कृय जस्तै रहे । खेलकुदको कार्यकारी निकाय राखेप, कार्यकारी प्रमुख विहीन भएपछि योजनामा खेलकुद चलेन । युवा तथा खेलकुद मन्त्रालयले राखेपको कार्यकारी प्रमुखको विकल्पमा केही काम भने गर्यो । खेलकुदको ‘डेडलक’ फुकाउन कुलबहादुर थापालाई आर्थिक र प्रशासनीक अधिकार सहित कार्यकारी भुमिका प्रदान गरियो । कर्मचारी थापामाथि लगाम लगाउन उपाध्यक्ष शिव कोईाराललाई राखेपका अधिकांश अधिकार प्रत्यायोजन गरियो । थापा ‘डमी’ कार्यकारीको रुपमा सदस्य सचिवको कुर्सीमा विराजमान रहे । आलंकारिक राखेपका उपाध्यक्षले कार्यकारी अभ्यासको मौका पाए । यस्तै भद्धा चित्र राखेपमा केही समय चल्दै आएको थियो ।
मंगलबारको निर्णयसँगै कार्यकारीको ‘डमी’ अवतारका थापा बाहिरिनेछन् । दुई हप्तामा घर फर्कन बाध्य भएका घिसिङ राखेपमा पुर्नबहाली गर्नेछन् । उही स्वागत, उही जयजयकारको भद्धा श्रृङ्खला राखेपमा पुन सुरु हुनेछ । तर प्रश्न उही रहनेछ, नवौं राष्ट्रिय खेलकुद कहिले हुन्छ ? एसियन गेम्सको तयारी कहिले अघि बढ्न ? ऐनको कार्यान्वयन कहिलेबाट सुरु हुन्छ ?
घिसिङको आगमनसँगै खेलकुद पनि ट्रयाकमा फर्कने अपेक्षा छ ।